Rule 27
अन्तरवार्ताको मूल्याङ्कन सम्बन्धी व्यवस्था
(१) अन्तरवार्तामा उम्मेदवारको मूल्याङ्कन गर्नको लागि अनुसूची–६ बमोजिमको फाराम प्रयोग गरिनेछ ।
(२) अन्तर्वार्ताको अङ्कभार देहाय बमोजिम हुनेछ ।
(क)   एक सय पूर्णाङ्कको लिखित परीक्षाको लागि बीस अङ्क ।
(ख)   एक सय भन्दा माथि प्रत्येक एक एक सय पूर्णाङ्कको लागि थप दश अङ्क।
(३) अन्तरवार्ता समितिको प्रत्येक सदस्यलाई पाठ्यक्रम र उम्मेदवारको व्यक्तिगत विवरण एक एक प्रति उपलब्ध गराउनु पर्नेछ ।
(४) अन्तर्वार्तामा पूर्णाङ्कको सत्तरी प्रतिशतभन्दा बढी वा चालीस प्रतिशतभन्दा घटी अङ्क दिनु परेमा सोको कारण खुलाउनु पर्नेछ । यसरी कारण नखुलाई अधिकतम भन्दा बढी वा न्यूनतम भन्दा घटी अङ्क दिएकोमा बढीमा सत्तरी प्रतिशत र घटीमा चालीस प्रतिशत अङ्क दिएको मानी गणना गरिनेछ ।
(५) अन्तरवार्ता समितिको कुनै सदस्यले कारण खुलाई कुनै उम्मेदवारलाई उपनियम (४) बमोजिम सत्तरी प्रतिशत भन्दा बढी वा चालीस प्रतिशत भन्दा कम अङ्क प्रदान गरेको अवस्थामा पनि अन्तरवार्ता समितिका पचास प्रतिशत भन्दा बढी सदस्यले त्यसरी कारण खुलाई कम वा बढी अङ्क प्रदान गरेको अवस्थामा मात्र मान्य हुनेछ । अन्यथा बढीमा सत्तरी प्रतिशत र घटीमा चालीस प्रतिशत नै अङ्क मानी गणना गरिनेछ ।
(६) अन्तरवार्ता समितिको अध्यक्ष वा सदस्यको अन्तरवार्तामा भाग लिने कुनै उम्मेदवारसँग अनुसूची–६ मा उल्लिखित नाता पर्ने भएमा अन्तरवार्ता समितिको त्यस्तो अध्यक्ष वा सदस्यले उक्त दिनको अन्तरवार्तामा बस्न हुँदैन । यसरी नाताभित्र पर्ने व्यक्तिको अन्तरवार्तामा बसेको कुरा अन्तिम नतिजा प्रकाशन हुनुपूर्व जानकारी हुन आएमा सो अन्तरवार्ताकर्ताले दिएको अंक बाहेक गरी बांकी अन्तरवार्ताकर्ताको औषत अंक गणना गरिनेछ ।